विराटचोक  — छहारी एजुकेशन एण्ड अपरच्युनिटीज केटीएम तथा छहारी इंक युएसएद्वारा संचालित पूर्ण छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रम मोरङ सुन्दरहरैँचामा सम्पन्न भएको छ। 

पूर्ण छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई कापी, कलम, पाठ्यपुस्तक, पोसाक, जुत्ता, टाइबेल्ट, तथा विद्यालय शुल्क समेत गरी सम्पूर्ण सुविधासहितकै छात्रवृत्ति उपलब्ध गराइएको हो। सुन्दरहरैंचा १० स्थित कोशी बुक्स एण्ड स्टेशनरीको प्राङ्गणमा शिक्षासेवी तथा द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल राजेन्द्रबहादुर थापाको सहजीकरणमा सुन्दरहरैँचाका अति विपन्न, शारीरिक अपाङ्गता भएका तथा जेहेन्दार विद्यार्थी मध्येबाट ३८ जनालाई पहिचान गरी छात्रवृत्ति वितरण गरिएको हो। 

आर्थिक अवस्थाकै कारण विद्यार्थीको स्कुलसँगको दूरी नबढोस् र शिक्षाको उज्यालोबाट बञ्चित विपन्न वर्गका नानीहरूलाई अध्ययनमा टेवा पुगोस् भन्ने हेतुले हरेक वर्ष पूर्ण छात्रवृत्ति वितरण गरिँदै आएको शिक्षासेवी थापाले बताए ।

विभिन्न समयमा उक्त संस्थाले विद्यार्थीका लागि निशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ। शिविरमार्फत विद्यार्थीहरूको स्वास्थ्योपचारमा महत्त्वपूर्ण मदत गर्दै आएको कोशी बुक्स एण्ड स्टेसनरीका सञ्चालक गौरव थापाले बताए। 

 भविष्यमा दातृसंस्थाहरुलाई सुन्दरहरैँचासम्म ल्याएर छात्रवृत्ति पाउने विद्यार्थीको संख्या बढाएर एकहजार पुर्‍याउन पहल भइरहेको सहजकर्ता थापाले बताए। संस्थाले विद्यार्थीलाई यसअघि फिल्टर तथा अन्य सामग्री समेत गरेको थियो।