पथरी  — मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको प्रदेश नमुना विद्यालय श्री पञ्चायत माविले शैक्षिकसत्र ०८१ का लागि अभिभावक र विद्यार्थीको रोजाइको पहिलो शिक्षाकेन्द्रका रूपमा आफ्नो विद्यालय परेको विषयलाई सगर्व ध्यानमा राख्दै चालूसत्रदेखि एसइई उत्तीर्णपछिका विद्यार्थीको पठनपाठन बिहानी समयमा आरम्भ गर्ने भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको समितिको दशौँ बैठकले विज्ञान, ललितकला, पत्रकारिता र प्राविधिक धार सँगसँगै वाणिज्य समूहको पठनपाठन पनि बिहानको समयमा आरम्भ गर्न लागिएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनुभयो ।

Untitled-11 66बिहान र दिउँसो गर्दै दुई सत्रमा सञ्चालित यहाँको पठनपाठनलाई सहज तुल्याउन दर्जनौँ विषयोपर निर्णय भएको जनाउँदै विगतका निर्णय कार्यान्वयनको समिक्षाका सन्दर्भमा विव्यसलगायत शिक्षक कर्मचारीका छोराछोरी कार्यरत विद्यालयमा पढाउनुपर्ने, विद्यालय हाताभित्र शिक्षक कर्मचारी र विद्यार्थी सबैले अनिवार्य पालना गर्नुपर्ने पोशाक पहिरनको व्यवस्थापनको कार्यान्वयन अनिवार्य गर्नुपर्ने, आमरूपमा प्रवेशिका परीक्षाका आधारमा विद्यार्थी भर्नालाई सबैको पहुँचमा आधारित राख्नुपर्ने, विद्यार्थीको उपस्थितिको आधारमा कक्षागत व्यवस्थापन गर्नुपर्ने, विद्यार्थी सङ्ख्याको अनुपातमा कक्षा समूह निर्धारण गरिने, मण्टेश्वरी आधारित शिक्षा केन्द्रको रूपमा विद्यालय विकासका लागि आवश्यक फर्निचर र फर्निसिङमा जोड दिइने, सिकाइविधि व्यवस्थापनका लागि विशिष्ट श्रेणीको शिक्षकले पनि प्रारम्भिक तहको कक्षागत मनोविज्ञान अध्ययन गरिने, पूर्णतः बालमैत्री र संस्कारसहितको शिक्षामा जोड दिइने, स्थानीय सरकारको निर्देशिकाअनुसार आवश्यक शिक्षक नियुक्ति गरिने, जीर्ण भवन व्यवस्थापन गरिने, विद्यालयको प्रशासन कार्यकक्षको सञ्चालन र पृथक व्यवस्थापन गरिने, स्थानीय अभिभावकको चाहना र मागअनुसार विद्यार्थीका लागि विद्यालय–बस सञ्चालन गरिने, संघीय सरकार शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयनका सम्बन्धमा अबउपरान्त शिक्षक कर्मचारी कसैले पनि राजनीतिक आस्था प्रकट हुने गतिविधि गर्न नहुने निर्णय भएको प्रधानाध्यापक बुढाथोकी थप्नुभयो । 

Untitled-12 66सामुदायिक विद्यालय निर्माणको आधारलाई पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारसँग सँगसँगै बुझ्नुपर्ने मान्यतामा दृढ अध्यक्ष बास्कोटा पूर्वाधार विकासमा लाग्ने आफ्नो अग्रज पुस्ताप्रति नतमस्तक रहँदै आफूहरू शैक्षिक गुणस्तर सुधारको प्रश्नमा अर्जुनदृष्टि लिएर लागेको बताउनुहुन्छ । नामले नै ऐतिहासिक रहेको श्री पञ्चायत मावि पढ्नु वा पढाउनु भनेको भविष्य बनाउनु हो भन्ने मानक स्थापित गर्न एकाग्रचित्तका साथ लागेको बताउनुहुने अध्यक्ष बास्कोटा असाधारण विषयगत योग्यता र निष्ठापर्याय दक्षजनशक्ति विद्यालयमा क्रियाशील रहेकोले आफूलाई यो उपलब्धी हात लगाउन कुनै गाह्रो नहुनेमा ढुक्क हुनुहुन्छ । 

बैठकमा चालूसत्रअन्तर्गत दाखिला प्रक्रियामा नाम चलेका दर्जनौँ बोर्डिङ छाड्दै आउनुभएका विद्यार्थीको बढ्दो चाप, आकर्षणता र एसइई उत्तीर्ण अवस्थापछिको सम्भावनाबारे विश्लेषणसहितको टिप्पणी उठेको एकजना सहभागीले बताउनुभयो । बैठकमा शिक्षक अभिभावक संघका अध्यक्ष मानप्रसाद लिम्बू, १ नं. वडाध्यक्ष भीमकुमार राईलगायत विव्यसको सक्रिय उपस्थिति रहेको थियो ।