विराटनगर — कोशी प्रदेशका सांसद जीवन आचार्यको महत्वाकांक्षी योजनाले सार्थकता पाउने भएको छ । गोठगाउँमा ३ सय बेडको अस्पतालहहित मेडिकल कलेज र विराटनगर रिङरोड बनाउने प्रधानमन्त्रीको घोषणासँगै आचार्यको योजना सार्थक हुने भएको हो । आफुले मतदान गरेका प्रदेश सांसदको पहलमा आफ्नो ठाउँमा मेडिकल कलेज आउने भएपछि मोरङ ६ का जनता पनि खुशी भएका छन् । 

 शुक्रबार प्रधानमन्त्रीले  मोरङको बिकासका लागि दुरगामी महत्त्वका दुई ठुला योजना साकार पार्ने घोषण गरेपछि  निर्वाचनको समयमा मतदाताहरुसँग आफुले चुनाव जितेमा गोठगाउँमा ३ सय बेडको अस्पतालहहित मेडिकल कलेज बनाउने प्रतिबद्धता व्यक्त गरेका मोरङ ६ का प्रदेश सांसद आचार्य खुशी भएका छन् ।

आचार्यकै निर्वाचन क्षेत्रमा रहेको गोठगाउँस्थित  पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले  विश्वविद्यालय हाताभित्र तीन सय बेडको मेडिकल कलेज सञ्चालनमा ल्याउनका लागि तत्कालै आवश्यक स्वीकृतिसहित तीन सय बेडसहितको मेडिकल कलेजको सुरुवातका लागि पहल गर्ने घोषणा गरेका छन्  । 

आफ्नै पहलमा नै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तीन सय  शैय्याको अस्पताल पूर्वाधार निर्माणको काम र विराटनगरमा रिङ्गरोडको काम आगामी आर्थिक वर्षमै शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दीक्षान्त समारोहमा आउनुअघि एमबीबीएस कक्षा सञ्चालन गर्ने दुईवटा भवनको उद्घाटन गरेका प्रचण्डले  विराटनगर चक्रपथको निर्माण कार्यलाई आगामी आर्थिक वर्षदेखि योजनावद्ध तवरले अगाडि बढाउने बताए ।

 कोशी प्रदेशका सांसद जीवन आचार्यले अस्पताल निर्माण र रिङरोड बनाउने  आफ्नो निरन्तर प्रयासले सार्थकता पाउन आँटेको भन्दै खुशी व्यक्त गरेका छन् । तीन  सय बेडसहितको मेडिकल कलेज र रिङरोड निर्माणका लागि  निरन्तर प्रधानमन्त्री लाइ भनिरहेकोमा अब सो अभियान सफल हुने भएको आचार्यले बताए ।