पथरी — मोरङको पथरी बहुमुखी क्याम्पसको प्रमुखको रुखमा झुण्ड्याइको कुर्सी झार्ने सहमति भएको छ । शनिबार पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोको पहलमा बसेको सर्वपक्षीय छलफलबाट  रुखमा झुण्ड्याइको  कुर्सी झार्ने सहमति भएको हो ।

नगरपालिकाको सभाहलमा भएको छलफलमा जनप्रतिनिधिहरु,क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु,स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिहरु, प्राध्यापक संघ, राजनीतिक दलका स्थानीय नेताहरू,उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख तुम्बापोद्वारा संयोजन भएको बैठकमा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राईले बिषयगत कुराहरुमा आफ्नो धारणा राखेका थिए । 

छलफल पश्चात् रुखमा बाँधिएको क्याम्पस प्रमुखको कुर्सी झार्ने सहमति भएको थियो । कार्यालयको ताला खोल्ने बिषयमा स्ववियुमा छलफलपछि मात्र निर्णय दिने सभापति केशर राईले विचार राखेपछि नगर प्रमुख तुम्बापोले सञ्चालक समिति अध्यक्ष रामकुमार बस्नेतलाई बैठक राख्न लगाएर समाधानमा लाग्ने निष्कर्ष दिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो माग पुरा नगरेको भन्दै क्याम्पसको कार्यालयमा ताला र क्याम्पस प्रमुखको कुर्सी रुखमा बाँधेको थियो ।