विराटचोक । आप्रवासी महिलाहरुको हकहितका लागि काम गर्दै आएको संस्था आप्रवासी महिला कामदार समुह (आमकास) नेपाल मोरङ जिल्ला शाखाले अस्ट्रेलियन राजदुतावासको सहयोगमा १ सय ३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सुन्दरहरैँचामा विभिन्न कार्यक्रम गरेको छ । 

मर्यादित काम, श्रमिकको सम्म्मान हाम्रो अभियान भन्ने नारासहित आमकास नेपालले श्रमिक सम्मान तथा सचेतना कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको हो ।

संस्थाकी मोरङ जिल्ला अध्यक्ष उमादेवी सेढाईको अध्यक्षतामा सुन्दरहरैंचा १० खोर्सानेस्थित सिद्दार्थ सेकेण्डरी  स्कुलमा बुधवार भएको कार्यक्रममा दुईजना श्रमिक मजदुरहरुलाई  नगदसहित सम्मान गरिएको छ । सो अवसरमा सुन्दरहरैँचा-८ की गीता शिवा र सुन्दरहरैँचा-१० का सुर्यबहादुर थापालाई सम्मानित गरिएको हो । 

कार्यक्रममा संस्थामा आबद्ध महिलाहरुका अलावा सुन्दरहरैँचा- १० का वडा सदस्य रमेश गौतम, सिद्दार्थ सेकेण्डरी  स्कुलका प्रिन्सिपल अर्जुन बस्नेत, सुकुना क्याम्पसका पुर्व स्ववियु सभापति बद्री अर्याल, समाजसेवी रन्जु सुवेदी लगायतले श्रमिकहरुको हक हितका बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।

आमकास नेपाल मोरङकी सचिव ईन्दिरा प्रसाईले संचालन गरेको  कार्यक्रममा  उपाध्यक्ष  राधिका खतिवडाले स्वागत मन्तव्य  व्यक्त गरेकी थिइन् । अतिथिहरुलाई  सह सचिव मिना बजगाई, भागिरथा चुडाल र राधिका खतिवडा, रिता चौधरी, हिमा निरौला लगायतले स्वागत तथा सम्मान गरेका थिए ।

Untitled-2 (4)अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा संस्थाले श्रमिकहरुले जानैपर्ने कुरा तथा श्रमिक हक र अधिकारबारे प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ । तालिममा मिलन  घिमिरेले सहजीकरण गरेका थिए ।

संस्थाकी जिल्ला अध्यक्ष उमादेवी सेढाईले घरेलुु कामदारलाइ सम्मानित व्यवहार अहिलेको प्रमुख चुनौती रहेकोे बताइन् । महिला श्रमिकहरुको हकहितका लागि विभिन्न काम गरेको संस्थाले ८ जनालाई ५० हजारका दरले रकम दिएर उद्यम शुरु गराएको र बिदेशमा अलपत्र परेका २ जना महिला श्रमिकको उद्दार गरेको अध्यक्ष सेढाईँले जानकारी दिइन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।