इटहरी ।  शनिबार नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (मौसमको एउटा प्रणाली) भित्रिने अनुमान मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरेकोटीका अनुसार भोलि शनिबार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेको हो।

‘तर त्यो त्यति बलियो प्रणाली नभएकाले अलिअलि मात्र पानी पर्नसक्छ’, उनले भनिन्, ‘मौसम बदली भई बादल लाग्ने भएकाले गर्मीमा केही राहत भने होला कि?’मौसम महाशाखाको प्रक्षेपणअनुसार शनिबार दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाशको २६ देखि ५१ प्रतिशतसम्म बादल लाग्नु हो भने साधारणतया बदली भनेको सम्बन्धित क्षेत्रको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादलले ढाकिनु हो।अनि मुख्यतया सफा भनेको चाहिँ कतै कतै मात्र बादल अर्थात् आकाशको २५ प्रतिशत भागमा मात्र बादल लाग्नु हो।  

महाशाखाका अनुसार शनिबार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

धेरै दिनदेखि पानी पर्न नसक्दा देशभर तापक्रम बढेको छ। प्रचण्ड गर्मीले खासगरी तराईको जनजीवन निकै कष्टकर भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले अझै आइतबारसम्म खासै वर्षाको सम्भावना नदेखिएको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।