विराटचोक — माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे फाइनल खेलकाे उपाधी सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ ।
नगर खेलकुद विकास समितिद्वारा आयाेजित सुकुना माविकाे खेल मैदानमा शनिबार भएको पहिलो महिला भलिबलमा लेटाङ नगरपालिकालाई पछि पादै सुन्दरहरैँचाले साेझाे ३ सेटमा उपाधी चुमेको हो । भलिबल खेलमा सुन्दरहरैँचाले लेटाङलाई पहिलो सेटमा २५-१० र दाेस्राे सेटमा २५-१४ साथै तेस्राे सेटमा २५-१५ ले पराजित गरेकाे थियाे । खेलमा रतुवामाही नगरपालिका भने तेस्रो भएको छ ।माेरङ जिल्लाकाे ८ वटा पालिकाकाे सहभागिता रहेकाे प्रतियाेगितामा प्रथम हुने टिम सुन्दरहरैँचा नगरपालिकाले रू ६७ हजार ५ सय तथा दाेस्रो हुने टिम लेटाङ नगरपालिकाले रू ३३ हजार ७ सय ५० का साथै ट्रफि मेडल र प्रमाणपत्र पाउँन सफल भएको छ । भलिबल प्रतियाेगितामा विभिन्न चरणका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार साथै प्रमाणपत्रकाे व्यवस्था गरिएकाे थियाे ।
प्रतियाेगिताकाे फाइनल खेलमा माेरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई , आयाेजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई , नगर उपप्रमुख अकली चाैधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठ लगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
भलिबलकाे फाइनल खेलमा प्रमुख अतिथि माेरङ जिल्ला समन्वय समितिका प्रमुख राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसकाे थप विकासमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताए । खेलकाे महत्त्व दर्साएर महिला खेलाडीलाई उचित साथ सहयाेग गर्न जरूरी रहेको उनले उल्लेख गरे ।
तीन दिन सम्म सञ्चालन भएको पालिका स्तरीय महिला भलिबल प्रतियाेगितामा लेटाङ ,सुन्दरहरैँचा ,पथरी ,बुढीगंगा ,रतुवामाई, कानेपाेखरी,बेलबारी, केराबारी, लगायतका पालिकाका टिमहरूले सहभागिता जनाएका थिए ।





















