काठमाडौं । लामो समय देखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएको छ । भूकम्पलगत्तै बन्द भएको चीनसँगको तातोपानी नाका चारवर्षपछि सञ्चालनमा आएको हो । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाए पछि नाका खुलेको जानकारी दिइएको छ ।

सोमबार दश जना लोडर र कन्टेनरलाई नाकाको पास दिइए पनि चीन पक्षबाट सहमतिको खबर आएपछि नाका सञ्चालन गरिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले जानकारी दिनुभयो ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडक हुँदै खाली कन्टेनर गएका हुन् । बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुग्ने भएको छ ।

नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइने भएको हो ।

नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक नेपाल–चीन आउने जाने गर्दै आएका थिए । वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।