साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेंलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महिनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्ग पालिस लगाएर श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने गरिन्छ ।

सगरमाथा अञ्चलको प्रमुख व्यापारी केन्द्रका रुपमा परिचित लहान बजारमा हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई छ । अबिवाहित युवतीहरुले असल बर पाउन हरियो चुरा मेहन्दी लगाएर व्रत बसी भगवान शिवको व्रत बस्ने गर्ने र शिव मन्दिरमा पूजाआजा गर्ने गर्छन् । असार महीनामा खासगरी अधिकांश हिन्दू महिलाले हरियो चुरापोते र मेहन्दी लगाउने स्थानीय व्यापारी मो एजाजुलले बताए ।

उनका अनुसार कतिपयले यसको धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन् । साउनमा बोटबिरुवा पलाएर हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महिनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको सञ्जुकुमारी मण्डलको भनाइ छ । 

हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिला श्रीमानको समृद्धि होस् भनेर खासगरी सुहागन महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गरेको पण्डित रामकुमार शास्त्रीले बताए । साउन महिनामा हरियो चुरा, पोते र मेहन्दीको बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।