काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि कार्यदलको बैठक जारी छ । बैठक सिंहदरबारमा कानुन मन्त्रालयमा चलिरहेको छ । कानुनमन्त्री पदम गिरीको संयोकत्व रहेको कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन् ।

बैठकले समितिको कार्यादेशबारे थप छलफल गरेर टुंगोमा पुर्‍याउने जनाइएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच हिजो सहमति भएको थियो । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले यस्तो समितिका बनाउनका लागि सहमति गरेको गरेको हो ।

कांग्रेसले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।