विराटचोक  -  मोरङमा करेन्ट लागेर मंगलबार बिहान कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको हो । शेर्पाले आफ्नै फार्मभित्र कुखुरा फार्म सञ्चालन गरेका थिए । फार्मभित्र पंखा जोड्ने क्रममा बिहान ९ः२० बजेतिर उनलाई करेन्ट लागेको थियो । 

पंखा जोड्दै गर्दा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका शेर्पालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ ।