इटहरी । यतिबेला (बुधबार बिहान ७:३० बजे) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भएको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तत्कालको मौसमबारे जानकारी दिएका हुन्। ‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित मेघगर्जन/चट्याङसहित वर्षा गराउने प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा छ’, उनले भने, ‘जसले गर्दा दिउँसो त्यसयता पूर्वका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ।’
मौसम महाशाखाले सूचना जारी गर्दै भनेको छ- हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकसित भई थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र पूर्वतिर सर्ने क्रममा रहेको हुँदा सतर्क र सचेत रहौँ।
मौसम महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।



















