काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउन भिसा प्रक्रिया अगाडि बढाउने बताएको छ । क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीप विश्वकप क्रिकेटमा भाग लिन अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा आईसीसीसँग समेत पहल भइरहेको उनले उल्लेख गरे ।
यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएपछि विश्वकप खेल्ने बाटो खुलेको छ । उनले बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकपको तयारीमा जुटेका थिए।
गत बुधबार (जेठ २) गते सन्दीपलाई अदालतले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो । सन्दीप टोलीमा सामेल भएपछि खेलाडीहरूको व्यवस्थापनको जिम्मा क्यानले मुख्य प्रशिक्षक र कप्तानलाई दिएको छ ।



















