सप्तरी । सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका–१ पडरियाका १७ वर्षीय किशोरलाई आठ वर्षको कैद सजाय हने फैसला सुनाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार रुपैयाँ किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने रु ३६ हजार तीन सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । विद्यालय पढ्न गएकी किशोरी (परिवर्तित नाम–१६५) लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेवी होटलमा लगेर बलात्कार गरेका थिए ।

पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो । आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधार गृह वीरगञ्ज पठाएको थियो ।