काठमाडौं । काठमाडौंमा पानी अहिले मेघगर्जनसहित पानी परिरहेको छ । उपत्यकामा शनिबार बिहानैदेखि मौसम बदली देखिएकोमा अपराह्नपछि तीन वटै जिल्लाका विभिन्न ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
पानी पर्दा काठमाडौंको तापक्रम केही घटेको छ । बिहीबार ३४ डिग्री सेल्सियस पुगेको काठमाडौंको तापक्रम शनिबार दिउँसो २८ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद मीनकुमार अर्यालका अनुसार काठमाडौंसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्यूठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम पानी परिरहेको छ ।
पश्चिमी भू–भागहरुमा भने पानी परेको छैन । पानी नपर्दा पश्चिम तराईमा तापक्रम ४४ डिग्री सेल्सियस नाघिसकेको छ । महाशाखाले भोलिसम्म पनि ती क्षेत्रहरूमा पानी नपर्ने भनेको छ । काठमाडौंमा भने बदली हुने, क्षणिक वर्षा हुने र घाम लाग्ने भइरहेको मौसमविद अर्यालले बताएका छन् ।



















