विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईले आफ्नो कार्यकालमा नगरबासीले समझन लायकको काम गर्ने बताएका छन् । 

शनिबार पूर्वाञ्चल विश्वविद्यालय जाने सडकको अनुगमनका क्रममा यस्तो कुरा बताएका हुन् । अहिले निर्माण हुन् लागेको पूर्वाञ्चल विश्वविद्यालय जाने सडकलाई  नमुना मार्गको रुपमा निर्माण गरिने गुरागाईले बताए । यस्तै राम्रो योजनाहरु र विकासका कामहरु गरेर आफ्नो कार्यकाल सम्झन लायक बनाउने उनले बताए ।

क्षेत्रका स्थानीयहरुलाई नगरपालिकामा बोलाएर डिस्प्ले गरेर सडकको बारेमा जानकारी गराईसकिएको र सबै प्रक्रिया पूरा भईसकेकाले अब कामले गति लिने बताए। 

सुन्दरहरैँचा वडा नं. ६, ७ र ८ मा सञ्चालन हुने आयोजनाको हेटौडा मकवानपुरको लामा - बानिया जेभी र सुन्दरहरैचा नगरपालिका बीच ३५ करोड ८५ लाख २३ हजार ६ सय ६९ रुपैयामा ठेक्का सम्झौता भइसकेको छ।  आयोजना अन्तर्गत चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडक खण्ड ४ किलोमिटर ७ सय सैतीस मीटर र महेश्वर सुब्बा मार्ग -लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटर सडक निर्माण हुनेछ।

आयोजना अन्तर्गत डवल लेनको बाटो,दुवै तर्फ सडक बत्ती,दुवै तर्फ फुटपाट दुवै तर्फ पक्की ड्रेन हुने नगरपालिकाले गरेको सम्झौतामा उल्लेख गरिएको छ। यस्तै,८ वटा पाइप कल्भट र १४ वटा बक्स कल्भटका साथै,सम्पूर्ण ट्राफिक सिगनल सहित सडक कालोपत्रे हुनेछ। आयोजना २०८२ जेठ ३२ गते भित्रमा सम्पन्न हुनेछ । उक्त आयोजनाको जेठ १० गते एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। 

 मेयर गुरागाईंले गरेका कामहरुले चर्चा पाउन थालेका छन् । विकासका विभिन्न आयोजनाहरु संगै नगर खेलकुद विकास समिति,नगर प्रहरीको भर्ती खुलाउने लगायतका कामहरुले पछिल्लो समय चर्चा पाएका छन् । उनले  गरेका यी कामहरुलाई नगर वासीहरुले अहिले धेरै महत्वका साथ हेरेको बुझिएको छ ।