इटहरी । जारी टी–२० विश्वकप अन्तर्गत आज (मंगलबार) नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दैछ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि सुरु हुनेछ ।
आईसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी–२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
नेपालको विश्वकप यात्रा
त्यस्तै नेपालले भने १० बर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
नेपाली टिम
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
कप्तान पौडेल भन्छन्–कुनै पनि टिमलाई चुनौती दिन सक्छौं
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकपको खेलअगाडि आफूहरू उत्साही रहेको बताएका छन् । नेदरल्याण्डसँगको खेलअगाडि प्रतिक्रिया दिँदै कप्तान पौडेलले सबै नेपाली खेलाडीहरू खेलका लागि उत्साही रहेको प्रतिक्रिया दिए । पौडेलले भने, ‘विश्वकप सुरु भएदेखि नाइस नर्भसनेस आइराछ । हामी सबै उत्साही छौँ । १० वर्षपछि विश्वकप खेल्न पाउँदा हामी सबै उत्साहित छौँ । साथसाथै हामीमा जिम्मेवारी पनि छ ।’
उनले नेपाली टिम सन्तुलित र सबै जना उत्तिकै क्षमतावान रहेको पनि बताए । साथसाथै नेदरल्याण्डस पनि उत्तिकै राम्रो टिम भएको उनको भनाइ छ । जसका कारण दबाब झेल्न सक्ने टिम नै विजयी हुने पौडेलको प्रतिक्रिया छ । उनले आफूहरूले विश्वकपका खेलका लागि योजना बनाएको र त्यसको कार्यान्वयन गर्न सके जित निकाल्न सक्ने प्रतिक्रिया दिए ।
पौडेलले भने, ‘हामीले जति योजना बनाएका छौँ त्यसको कार्यान्वयन गर्नुपर्ने चुनौती छ । त्यसमा हामी सफल भयौँ भने हामी जित्नेछौँ । हामीले बनाएको योजना कार्यान्वयन गर्नुपर्ने दायित्व छ ।’ ‘हामीले आफ्नो क्षमता राम्ररी प्रदर्शन गर्न सक्यौँ भने कुनै पनि टिमलाई चुनौती दिन सक्छौँ,’ पौडेलले भने । उनले प्रतियोगितामा पहिलो खेल निकै महत्वपूर्ण हुने भएकाले आफूहरूका लागि पनि नेदरल्याण्ड्ससँगको खेल निकै महत्वपूर्ण रहेको बताए ।



















