विराटचोक— मोरङको सुन्दरहरैँचा-१२ बाट दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-२ का २५ वर्षीय दाबुद मोहमद र भारत कलकत्ता घर भएका नयन बिश्वास रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी विराटचोकको संयुक्त टोलीले बिहिबार पक्राउ गरेको हो । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रहरीका अनुसार मोहमदलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कालो जिन्स पेन्टको गोजीभित्र १० रुपैयाको नोट लुकाई राखेको अवस्थामा स-साना ३ वटा प्लास्टिकमा पोका ०.२६ ग्राम (दुई सय मिलिग्राम) लागुऔषध जस्तो देखिने धुलो पदार्थ सहित भेटिए पछि पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु माथि इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिए।
पछिल्लो समय सुन्दरहरैँचामा लागुऔषध सेवन गर्ने र कारोबारी गर्नेहरुको संख्या गइरहेको छ । उक्त गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।




















