एनडीए संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीको घर गएर आशीर्वाद लिएका थिए । त्यसपछि उनले पूर्व राष्ट्रपति रामनाथ कोविन्दसँग उनको सरकारी निवासमा भेट गरे ।

नयाँ दिल्ली- भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) बाट बहुमत जुटाएपछि राष्ट्रपति द्रौपती मुर्मुले नरेन्द्र मोदीलाई सरकार गठनका लागि निम्तो दिएकी छन् ।

शुक्रबार एनडीए गठबन्धनबाट प्रधानमन्त्री पदका लागि सर्वसम्मत भएपछि मोदीलाई राष्ट्रपतिले नयाँ सरकार गठनको निम्तो दिएकी हुन् ।

राष्ट्रपतिबाट सरकार गठनका लागि बोलावट भएपछि मोदीले सञ्चारमाध्यमलाई सम्बोधन गरेका छन् ।

यस क्रममा उनले १८ औँ लोकसभा एक प्रकारले नयाँ ऊर्जा, युवा ऊर्जा र केही गरेर देखाउने गरी आएको बताए । आजादीको अमृत महोत्सवपछि यो पहिलो लोकसभा चुनाव हो ।

मोदीले २०४७ सालमा देशले स्वतन्त्रताको १०० औँ वर्षगाँठ मनाउनुअघिसम्म भारतबासीको संकल्प पूरा गर्न आफूहरूसँग स्वर्णिम अवसर आएको पनि बताए ।

उनले देशवासीले एनडीएलाई एक पटक फेरि सेवा गर्ने मौका दिएको बताउँदै यसका लागि आभार व्यक्त गरे ।

उनले जुन गतिले देश अघि बढिरहेको छ त्यसले समाजका हर क्षेत्रमा परिवर्तन प्रष्ट देखिएको उल्लेख गरे। २५ करोड जनता गरिबीबाट बाहिर आउनु भारतका लागि गर्वको विषय भएको उनले बताए ।

मोदीले १८ औँ लोकसभामा पनि उही पुरानै गति र समर्पण भावसहित देशको आशा-आकांक्षालाई पूर्ण गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

मोदीले एनडीएको बैठकमा सबै घटक दलले आफूलाई नेता चुनेको बताए । सबै दलले राष्ट्रपतिलाई समर्थनबारेमा जानकारी दिएको पनि उनले खुलाए । त्यसपछि राष्ट्रपतिले सरकार बनाउन आफूलाई डाकेको मोदीले बताए ।

त्यसपछि मोदीलाई आइतबार साँझ हुने शपथबारे पनि राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । शपथ ग्रहणको विस्तृत कार्यक्रम राष्ट्रपति भवनबाट जारी हुनेछ ।

के भने नितिश र नायडूले  ?

बिहारका मुख्यमन्त्री तथा जेडीयू नेता नितिश कुमारले भारतको प्रधानमन्त्री पदका लागि भाजपा संसदीय दलका नेता नरेन्द्र मोदीलाई हाम्रो पार्टीले समर्थन गरेको बताएका छन् । उहाँ १० वर्षदेखि प्रधानमन्त्री हुनुहुन्थ्यो र फेरि पनि प्रधानमन्त्री हुनुहुनेछ भन्ने खुसीको कुरा हो । उनले सिङ्गो देशको सेवा गरे । जे बाँकी छ, त्यो अर्को पटक पूरा हुनेमा हामी विश्वस्त छौं । हामी तिनीहरूको साथमा हुनेछौं, हरेक दिन, तिनीहरूले जे गर्छन्, जे गरे पनि धेरै राम्रो छ।

एनडीए संसदीय दलको बैठकमा टीडीपी प्रमुख एन चन्द्रबाबु नायडूले देशको प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरे। उनले भने, ‘हामी सबैलाई बधाई दिन्छौं, हामीले प्रशंसनीय बहुमत हासिल गरेका छौं । मैले चुनाव प्रचारका क्रममा देखेको छु कि प्रधानमन्त्री मोदीले तीन महिनासम्म आराम गरेनन्। उहाँले दिनरात प्रचार गर्नुभयो। आन्ध्र प्रदेशमा हामीले ३ जनसभा र १ ठूला र्‍याली गर्यौँ र आन्ध्र प्रदेशमा चुनाव जिताउनमा ठूलो परिवर्तन ल्यायौँ।