काठमाडाैं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१औं बैठक नेपालमा हुँदै छ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो। 

आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन्। आईडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए।

अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो। नेपालले ६ वर्षअघि आईडीए–१९ बैठक काठमाडौंमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लबिङ गरेको थियो। 

उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ। समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन्। अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन्।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदै छन्।