काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ दुई दिनमै हाजिर जमानीमा छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत शुक्रबार पूर्व उपाध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई सरकारी वकिल कार्यालय काठमाडौंमा त्यही दिन उपस्थित गराएर बयान लिइएको थियो ।

बयान सकेसँगै उनलाई हाजिर जमानीमा छाडिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो । २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ ।

नक्सालको करिव २९ रोपनी जग्गा वार्षिक एक करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो । जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसमध्ये श्रेष्ठलाई पक्राउ गरेको हो । अनाथ र सहाराहीन बालबालिकाको संरक्षण गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो ।