काठमाडौँ  —  दक्षिण-पूर्वी अफ्रीकी देश मलावीका उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान बेपत्ता भएको छ । उक्त विमानमा अन्य ९ जना पनि सवार थिए । उपराष्ट्रपति चढेको विमान मलावी डिफेन्स फोर्सको विमान रहेको बताइएको छ ।

सोमबार बिहान राजधानी लिलोङवेबाट उडेको उनको विमान राडारबाट बेपत्ता भएको थियो । उक्त जानकारी सार्वजनिक भएपछि मलावीको राष्ट्रपति कार्यालयले खोजी तथा उद्धार कार्यको आदेश दिएको छ ।

सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपतिको विमान स्थानीय समय अनुसार बिहान १० बजेपछि देशको उत्तरमा रहेको मजुजु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने थियो । तर, विमानसँग सम्पर्क टुटेपछि उद्धार कार्य जारी छ । अर्कोतर्फ, घटनाको जानकारी पाएपछि मलावीका राष्ट्रपति लाजरस चकवेराले आफ्नो बहामास भ्रमण रद्द गरेका छन् । सम्पूर्ण अवस्था प्रष्ट भएपछि मात्रै घटनाबारे सर्वसाधारणलाई जानकारी गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति साउलोस चिलिमा २०२२ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए। सरकारी ठेक्का लिएर पैसा लिएको आरोप उनीमाथि लागेको थियो । तर, गत महिना अदालतले प्रमाणको अभावमा आरोप खारेज गरेको थियो । रिपोर्टका अनुसार उनको विमान बेपत्ता हुनुको कारण भने खुल्न सकेको छैन । उनको खोजीकार्यमा प्रयास जारी रहेको  मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले बीबीसीलाई जानकारी दिएका छन् । कुन्कुयुले भने कि उनीहरूले अवतरण गर्ने विमानस्थल म्ज़ुज़ूको उत्तरी भागमा थियो।

गत महिना २० मे मा यस्तै दुर्घटनामा इरानका राष्ट्रपति र अन्य अधिकारीको मृत्यु भएको थियो । इरानी राष्ट्रपति इब्राहिम रायसीको विमान पनि अजरबैजानबाट फर्कने क्रममा बेपत्ता भएको थियो । उउनी संगै हेलिकप्टरमा परराष्ट्रमन्त्री हुसेन अमीराब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर र अन्य अधिकारीहरू सवार थिए। केही घण्टापछि हेलिकप्टरको भग्नावशेष फेला परेको थियो । दुर्घटनामा राष्ट्रपतिसहित सबैको मृत्यु भएको थियो   ।