एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनलाई अवैध रुपले बन्दुक राखेको मामिलामा दोषी ठहर्याइएको छ । डेलावेयरमा दर्ता भएको तीन मुद्दामा उनी दोषी पाइएका हुन् ।
बीबीसीका अनुसार २१ सदस्यीय इजलासले हन्टर बाइडनलाई २०१८ मा बन्दुक खरिद गर्दा आफ्नो लागूपदार्थ सेवनबारे फारममा गलत जानकारी दिएको भन्दै दोषी ठहर्याएका हुन् । हन्टरमाथि लगाइएको आरोपमा उनलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।
५४ वर्षीय हन्टरविरुद्ध गलत बयान दिएको र अवैध रूपले बन्दुक राखेको आरोप लगाइएको थियो । जसमा उनी दोषी पाइएका हुन् । अमेरिकामा बन्दुक खरिद गर्दा झूठो बयान दिएमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान छ भने कुनै व्यक्ति जसलाई लागू औषधको लत लागेको र अवैध रूपले बन्दुक राख्छ भने उसलाई पनि १० वर्षको जेल सजाय हुन सक्छ ।




















