एजेन्सी । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति समीक्षा बैठक गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो ।

समीक्षा बैठकमा मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २-२ लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारत सरकारले कुवेत आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताए ।

कुवेतको दक्षिणी अहमद गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको बहुतले आवासीय भवनको भुइँ तल्लामा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको थियो । जसमध्ये ४० जना भारतीय थिए । यस घटनामा ५० जना घाइते भएका छन् र उनीहरूको विभिन्न पाँच अस्पतालमा उपचार भइरहेको छ । यस घटनामा नेपाली श्रमिक पनि घाइते भएका छन् ।