काठमाडौँ- युरोकपको १७औं संस्करण आज जुन १४ देखि जुलाई १४ सम्म आयोजना हुने भएको छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियम मा खेलाईदै छ ।

युरोकपको आजको उद्घाटन खेलमा आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हेर्न पाइने छ ।   युरोकपको डिफेन्डिङ च्याम्पियन इटालीले गत २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । 

यस युरोकपमा भाग लिएका २४ टिमलाई ६ समुहमा बिभाजन गरिएको छ । समुह चरणका खेलपछि समुहमा शिर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन् ।

यस पालिको युरोकपको समुह -ए मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड रहेका छन् । त्यस्तै समुह -बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् भने समुह -सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड परेका छन् । त्यस्तै समुह-डी मा पोल्याण्ड, नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्स रहेका छन् भने समुह- ई मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन रहेका छन् । त्यस्तै समुह -एफ मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन् ।

युरोकप अहिलेसम्म को कसले जितेका छन् ?

अहिलेसम्म १६ पटक समपन्न यो प्रतियोगिताको सबै भन्दा धेरै पटक उपाधि जर्मनी र स्पेनले जितेका छन् । जर्मनी र स्पेनले ३-३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेको थियो ।

त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीलले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो । त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि बिभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।

त्यस बाहेक रसियाले १९६० मा, पोर्चुगलले २०१६ मा, नेदरल्याण्डसले १९८८ मा, डेनमार्कले १९९२ मा र ग्रीसले २००४ मा युरोकपको उपाधि जितेका थिए । 

ईङल्याण्ड २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो । 

कुन कुन स्टार खेलाडीले गुमाउने भए युरोकप ?

बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओसले राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण युरोकप गुमाउने भएका छन् । उनी यस युरोकपमा देखिने छैनन् ।

त्यस्तै स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरीका कारण यो पटकको युरोकप गुमाउने भएका छन् । 

त्यस्तै आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरिका कारण यस युरोकपमा खेल्न नपाउने भएका छन् । उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन भन्ने पनि अनिश्चित रहेको रिपोर्टमा बताइएको छ । त्यस्तै नेदरल्याण्डसका सेन्ट्रल मिडफिल्डर फ्रानकी डी जोङ पनि इन्जुरीका कारण युरोकप खेल्न नसक्ने भएपछि नेदरल्याण्डसलाई ठूलो धक्का लागेको छ ।       

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रीलिश पनि यस युरोकपमा नदेखिने भएका छन् । उनी इङल्याण्डको टिममा पर्न असफल भएका छन् ।

अर्का खेलाडी जर्मनीका स्टार डिफेन्डर माट्स हुमेल्सले पनि यस पटकको युरोकपमा नखेल्ने भएका छन् । प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका हुन् ।

यी बाहेक इङल्याण्डका रीच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन् ।

त्यस्तै फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले प्रतिबन्धित लागूऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन् ।