काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले निर्माणाधीन संसद भवनमा मदिरा बार बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा बोल्दै उनले विदेशी पाहुनाहरू आउँदाखेरि सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
उनले संसद भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्वपूर्ण हुने समेत बताए । उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ । कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् ।
त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । त्यसपछि अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरी सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहे ।’



















