विराटचोक — घर सार्ने पैसा नभएपछि मोरङ सुन्दरहरैँचा-९ की मञ्जु मरिक समस्यामा परेकी छन् । सुन्दरहरैँचा-९ मा रहेको कृषि विकास बैंक अगाडि रहेको टहरो सार्न बाध्यतामा रहेकी उनलाई  पैसा आभावका कारण समस्या परेको हो ।

सामान्य मजदुरी गरेर गुजारा चलाउदै आएकी मरिकले सहयोगको याचना गरिरहेकी छन् । कृषि विकास बैंकअगाडि टहरो बनाएर बसिरहेकी उनको मात्रै होइन विजय मल्लिक र मुना मल्लिकको घर पनि मञ्जुको सँगै छ । तीन वटै घर स्थानान्तरणका लागि आर्थिक समस्या रहेको हुनाले सहयोगको अपेक्षा गरेको मञ्जुको भनाइछ ।

मञ्जुका अनुसार तीन दशकअघिदेखि बसिरहेको ठाउँ बाटो बिस्तारका क्रममा परेको हुनाले भत्काउनुपर्ने भएको हो । टहरापछाडि रहेको कृषि विकास बैंकले पनि भवन हटाउन अनुरोध गरिरहेको मल्लिक परिवारको भनाइ छ । लामो समय भाडाको घरबाट कार्यालय सञ्चालन गरेको कृषि विकास बैंकले हालै आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।

नेपाली कांग्रेसमा आवद्द रहेकी मञ्जुलाई यतीखेर भने कांग्रेसका केही नेता कार्यकर्ताहरुले सहयोग गर्न थालेका छन् । यसै क्रममा  सुन्दरहरैँचा- ९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता प्रकाश श्रेष्ठले बिहीबार २० हजार ५२० रुपैयाँ सहयोग गरेका छन् । नेपाली कांग्रेसकी नेत्री मञ्जुकुमारी फुयाल रेग्मीले ५ हजार रुपैयाँ र कुमारी नेपालीले १ हजार रुपैयाँ सहयोग गरेका छन । नेपाली कांग्रेसका जिल्ला सचिव ललित श्रेष्ठले पनि मञ्जुलाई आर्थिक सहयोग गर्ने वचन दिएका  मरिक परिवारले जनाएको छ ।

सुन्दरहरैँचा- ९ बुधबारे बजारभन्दा केही परको जग्गामा नयाँ घर बनाउने ठाउँ रहेको तर,पैसा आभावमा मञ्जुको भनाइ छ ।