काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले बर्तमान सत्ता गठकन्धन २०८४ सालपछि पनि कायम रहने खुलासा गरेका छन  । दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो खुलासा गरेका हुन् ।

’अहिले हामीलाई प्रधानमन्त्री चाहिएको छैन, धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दैछन, हामी यो समीकरणलाई आउने चुनावसम्म कायम राख्न चहान्छौं, हाम्रो अध्यक्ष केपी शर्मा ओलीले त यो समीकरण ०८४ सम्म पनि रहन्छ र ०८४ पछि पनि रहन्छ भन्नुभएको छ,’ महासचिव पोखरेलले भने ।

उनले एमाले प्रधानमन्त्री पदका लागि सरकारमा नगएको पनि प्रष्ट पारे । तत्कालीन गठबन्धन असफल हुन्छ भनेर आफूहरुले बताइरहेको बेला गठबन्धन असफल भएको उनले बताए  । गठबन्धन असफल भएपछि एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएको तर प्रचण्डले २ महिनामै गठबन्धन बदल्नुभएको महासचिव पोखरेलले स्मरण गरे । आफूहरु मिसन ०८४ भनेर सत्ताको राजनीतिबाट अलग भएर बसिरहेको तर मुलुक बर्बाद हुने दिशामा गएपछि नयाँ समीकरण बनाउनुपर्ने परिस्थिति आएको उनले प्रष्ट पारे ।

एमाले बाहिर बसिरहँदा मुलुक बर्बाद भयो भने ८४ भनेर हुन्छ र ? भन्ने प्रश्न जनस्तरबाट उठेपछि एमालेले कांग्रेस र माओवादीलाई नयाँ समीकरणको प्रस्ताव पठाएको महासचिव पोखरेलले बताए । एमालेको प्रस्ताव कांग्रेसले नमानेको र माओवादीले मानेपछि नयाँ समीरकण बनेको उनले प्रष्ट पारे ।

महासचिव पोखरेलले भने , ’एमालेले अस्वीकार गरेको होइन, कांग्रेसको नेतृत्वले नै अस्वीकार गर्दाको परिस्थिति हो भन्ने कुरालाई बुझेर विश्वासको वातावरण निर्माण गर्ने खालको कुरा महत्वपूर्ण हो, किनकी नेपालको राजनीतिको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने कुरामा सम्बन्धित दलको मुख्य नेतृत्वले नै दृष्टिकोण बनाउन सक्दैन भने तपाइँ हामी तलबाट गर्ने चिन्ताको खास अर्थ हुँदैन ।’

राजनीतिलाई विचारको जगमा ध्रुविकरण गर्नुपर्ने भन्दै उहाँले राज्यको संरचनागत प्रश्नमा र लोकतन्त्रका आधारभूत मूल्यका प्रश्नमा कांग्रेस एमाले जस्ता पार्टीहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए । विकास र समृद्धिका लागि थोरै र बलिया पार्टीहरू हुनुपर्ने भन्दै महासचिव पोखरेलले नानाथरिका पार्टीहरू खोल्नु भनेको देशलाई थप बर्बाद पार्ने र समाजलाई अलमल्याउने काम भएको पनि प्रष्ट पारे ।