काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आज (मंगलबार) दशौं दिन पनि नारा जुलुससहित काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।

नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । वैदेशिक रोजगार विभागको कार्यालय अगाडि निरन्तर नारा जुलुस भईरहेको छ । सरकार र विभागबिरुद्धमा नारा जुलुस गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन् ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले आन्दोलनलाई थप कडा बनाउँदै अगाडि बढने बताए । चर्को गर्मीका बीचमा विगत नौं दिनदेखि वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने मागसहित निरन्तर आन्दोलन भईरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेको टिप्पणी उनले गरेका छन् ।
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो । आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीको छ ।

आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा, फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।