काठमाडौं - ब्रेक सुमार्फत भएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।  

सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा बुझाएको दोस्रो चरणको अनुसन्धान प्रतिवेदनमा २० जना पक्राउ परेको जनाइएको छ। 

 प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्। सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ। सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ नागरिक पनि रहेका छन् ।

सिआइबीले पक्राउ परेकाहरूबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ। पक्राउ परेकाहरूलाई संगठित अपराध, सुनको अवैध तस्करी लगायतमा सजाय माग गरिएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रतिवेदन अध्ययन गर्दैछ। ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुन: फाइल खोलेको थियो ।