काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखिएको बताएका छन् । मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको पनि उनले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले काँग्रेस र एमालेले मुलुकलाई २०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।

उनले भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो , माओवादी जनयुद्धले ल्याएका उपलब्धि, संघीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ, यसको सशक्त प्रतिवाद गर्नुपर्छ भनेका छन्।  

बैठकमा ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेको पनि बताए । ओलीसँग बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको ‘प्रचण्ड’ले बैठकमा ब्रिफिङ गरेका थिए ।