इटहरी । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न भोलि (बुधबार) सम्मको समय दिने भएको छ । आज (मंगलबार) बसेको पार्टीको सचिवालय बैठकमा बुधबार बेलुकीसम्म प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न समय दिनेगरी छलफल भएको एक पदाधिकारीले जानकारी दिए ।

बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीबाट प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गरिएको निर्णय भएको जानकारी दिए । यद्यपि बैठकमा भने बढीभन्दा बढी २४ घण्टासम्म कुर्ने र त्यतिबेलासम्म पनि राजीनामा नदिए पर्सी (बिहीबार) बिहान मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय भएको एक पदाधिकारीले बताए ।

मन्त्रीहरूलाई फिर्ता बोलाएपछि बाँकी निर्णयहरू कसरी गर्ने भन्नेबारे त्यतिबेलै शीर्ष नेताहरू बसेर छलफल हुने ती पदाधिकारीले जानकारी दिएका छन् । ‘हामी भोलि बेलुकी (बुधबार) सम्म कुर्छौ,’ उनले भने ‘त्यति बेलासम्म पनि उहाँले मार्गप्रशस्त गर्नु भएन भने हामी अन्य निर्णय लिन्छौं ।’