चितवन । चितवनका एक सुन व्यापारीले बीमाको रकम हत्याउन करोडौं मूल्यको सुन, चाँदी चोरी भएको झुटो हल्ला फैलाएको खुलासा भएको छ । असार १ गते कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा केही व्यक्तिले लुटपाट गरेको खबर फैलियो। दुई जना व्यक्तिले हतियार देखाएर धम्काउँदै दुई करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुन, चाँदी र हिराका गरगहना लुटेर लगेको सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुग्यो ।

राति सवा ८ बजेतिर नचिनेका व्यक्तिहरूले पसलका व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई खुकुरी, चक्कु घाँटीमा राखी डर देखाएर गरगहना लुटेको जानकारी सञ्चालक विनोद सुनारले प्रहरीलाई दिए । घटनामा अनुसन्धान गर्दै जाँदा सञ्चालक सुनारले नै योजनाबद्ध रूपमा चोरी भएको हल्ला फैलाएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले बताए । उनले अनुसन्धानबाट सुनारले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाएर बीमाको रकम हत्याउने नियत राखेको खुलेको एसपी रिमालले जानकारी दिए । उनले भने, ‘घटनाको केही महिनाअघि मात्रै उनले पसलको बीमा गराएका रहेछन् । बीमाको पैसा लिने मनसायले चोरीको योजनावद्ध नाटक गरिएको रहेछ ।’

जिल्ला प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार सञ्चालक सुनारले लुटपाटको लागि पूर्णबहादुर विश्वकर्मा नामका व्यक्तिलाई जिम्मा दिएका थिए । जिम्मेवारीअनुसार तनहुँ घर भएका ५० वर्षीय विश्वकर्मा बाराका १८ वर्षीय पवनकुमार पासवानलाई असार १ गते राति सवा ८ बजेतिर मोटरसाइकलमा विनोद सुनचाँदी पसल पुगेका थिए । त्यतिखेर पसलका व्यवस्थापक विजय विश्वकर्मा पसलमै थिए । उनले सञ्चालक विनोदको योजनामा साथ दिँदै चोरी गर्न आएका दुई जनालाई सघाएको अनुसन्धानको क्रममा भेटिएको डिएसपी रिजालले बताएका छन् ।

विश्वकर्मा र पासवानले पसलबाट चोरी गरेका गरगहना सञ्चालककै योजनाअनुसार अञ्जना पुडासैनी केसीको घरमा पु¥याएका थिए । त्यसपछि प्रहरीले घटनाबारे सूचना पाएको थियो । सूचना लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । घटनाको दुई दिनपछि विनोदले अञ्जनाको घरमा राखिएका गहनाहरू फिर्ता लगेर लुकाएको भेटिएको डिएसपी रिजालले बताएका छन् । आफ्नो मिल्ने साथी भएकाले विनोदले केही दिन गरगहना लुकाउन सहयोग मागेका थिए ।

प्रहरीले उनलाई मतियारको रुपमा पक्राउ गरेको छ । प्रहरीले सञ्चालक विनोद सुनार, अञ्जना र पसलका व्यवस्थापक विजय विश्वकर्मालाई सोमबार पक्राउ गरेको थियो । मंगलबार पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानलाई पक्राउ गरेको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनीहरूको साथबाट छुट्टाछुट्टै ठाउँबाट एक किलो ७३४ ग्राम र ४४ तोला सुन जस्तो देखिने गरगहनाहरू बरामद गरेको जनाइएको छ ।

प्रहरीका अनुसार सञ्चालकले सिद्धार्थ इन्स्योरेन्सबाट दुई करोड २० लाखको बीमा गरेका थिए । उनले पसलमा लुटपाट भएको भन्दै बीमा रकम दाबी पनि गरेका थिए । एसपी रिमालकाअनुसार सञ्चालक विनोद सुनारले दुई जनालाई ५० हजार रुपैयाँ दिएर चोरी काम गर्न लगाएका थिए । हरेक महिनाको १ गते खोलेसिमल बजारका सबै पसलहरू बन्द हुन्छन् । असार १ गते विनोद सुनचाँदी पसल खुलेको थियो ।

‘बन्द हुने दिनमा खुलेको, राति अबेरसम्म खुलेको, सानो बजारमा ठूलो चोरी भएको भनिएको लगायतका कुराबाटै हामीले केही नयाँ कुरा छ भन्ने अनुमान लगाएका थियौं । सिसिटिभी क्यामेराको फुटेजबाट थप संकेतहरू पायौं,’ एसपी रिमालले भने, ‘अनुसन्धान गर्दै जाँदा सञ्चालककै योजनामा सबै काम भएको पुष्टि भयो ।’ पक्राउ परेकाहरूलाई लुटपाट र चोरीको मुद्दामा अनुसन्धान गर्न चितवन जिल्लाबाट ६ दिनको म्याद लिइएको छ । थप अनुसन्धान गर्दै जाँदा अन्य कानुन पनि आकर्षित हुनसक्ने एसपी रिमालले बताएका छन् ।