सप्तरी — सप्तरीमा एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलाका ३८ वर्षीय जिवछप्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सोही स्थानकी एक महिलालाई बोक्सीको आरोप लगाउँदै अश्लील गालीगलौज गर्नुका साथै कुटपिट गरेका थिए। घटनापछि फरार रहेका दुवै जनालाई प्रहरीले बनौला क्षेत्रबाट पक्राउ गरेको हो।
पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




















