काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिस गरेका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ ।

आयुक्तमा सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रधानविरुद्ध गत ७ असारमा १० दिन समय दिएर उजुरी माग गरेको थियो । प्रधानविरुद्ध पाँच वटा उजुरी परेको जनाइएको छ । सबै उजुरी यौन दुर्व्यवहारसँग सम्बन्धित छन् । प्रधान नेपाल कानुन आयोगको कार्यकारी निर्देशक हुँदा आफूलाई कार्यालयमै इच्छाविपरीत यौन सम्पर्क गरेको दाबीसहित एक महिलाको उजुरी परेको छ ।

जागिर लगाइदिने बहानामा प्रधानले यौन सम्पर्क गर्ने गरेको भन्दै अर्को उजुरी समेत छ । घटना सामसुम पार्न प्रधानले एक करोड रुपैयाँ दिएको समेत उजुरीमा दाबी छ । उजुरीकर्ताले रकम दिएको चेक र मिति समेत प्रमाणका रुपमा पेश गरेका छन् । पीडित महिलाले २४ भदौ २०८० मा पीडित काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दिएकोमा पैसामा मिलापत्र गरिएको समेत उजुरीमा उल्लेख छ ।

संविधानको धारा २४५ को उपधारा ६ मा आयुक्त हुने व्यक्ति ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने व्यवस्था छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ५ मा पनि संवैधानिक परिषद्ले नियुक्तिको सिफारिस गर्दा नै सम्बन्धित व्यक्तिको चरित्र ख्याल गर्नुपर्ने उल्लेख छ । गत २ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो ।