कपिलवस्तु जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुने भएको छ।

मंगलबार बसेको न्याय परिषदको बैठकले उपाध्यायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराको प्रस्तावमा परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको स्रोतले जनाएको छ।

उपाध्यायविरुद्ध मुद्दा दायर भएन्यायिक इतिहासमै न्यायाधीशविरुद्ध यस्तो मुद्दा पहिलो हुनेछ।

परिषदले अर्का जिल्ला न्यायाधीश बिश्वमंगल आत्रेयलाई अबकास दिने निर्णय गरेको छ। उनीमाथि ललितपुर जिल्ला अदालतमा भीएलएनका संचालकलाई आर्थिक लेनदेन गरेर रिहाई आदेश दिएको आरोप लागेको थियो।

यस्तै काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई पनि किन कारवाही नगर्ने भनी एक साताभित्र स्पष्टीकरण पेश गर्ने आदेश दिएको छ।

बानियाँलाई सवारी दुर्घटनासम्बन्धी मुद्दाका अभियुक्तसग घुस लेनदेनमा फैसला गरेको आरोपमा छानबिन भइरहेको छ।