रुपन्देही — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्र निर्माणको लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताएका छन् । अनेरास्ववियु रुपन्देहीद्वारा बुटवलमा बिहिबार भएको एसईई उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
उनले अब भरोसा र उत्साहका साथ कदम अगाडि बढाउने वातावरण बनेको पनि प्रष्ट पारे । देशको समृद्धिका निम्ति योगदान गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने सङ्कल्पका साथ एमाले र कांग्रेसको बिच समझदारी बेनेको पौडेलले जानकारी दिए । हिजो देशमा समृद्धिको काम गर्न सफल हुनुभएका केपी ओली केही दिनमा देशको प्रधानमन्त्री बन्न लाग्नुभएकोले अब देश समृद्धिको बाटोमा अघि बढ्ने पौडेलले प्रष्ट पारे ।
‘त्यो सरकारले अरू क्षेत्रका समस्याका साथसाथै शैक्षिक क्षेत्रका समस्या पनि नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने र त्यस भित्र रहेर राष्ट्र निर्माणमा योगदान दिने नेपाली विद्यार्थीको चाहना पुरा हुँदै छ’, पौडेलले भने ।
उनले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको पनि कामना पनि गरे । पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले नेपालको शैक्षिक क्षेत्रमा रुपन्देहीको महत्वपूर्ण योगदान रहेको बताउँदै यो अझै अघि बढ्ने विश्वास व्यक्त गरे ।



















