काठमाडौं । अहिले नेपालको खेलकुद क्षेत्रमा क्रिकेटले लगातार एकपछि अर्को सफलता पाउँदैछ । यो बीचमा सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ । कप्तान पारस खड्काले उत्कृष्ट अर्ध शतक प्रहार गरेसँगै आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।
यो सँगै नेपालको अघिल्लो चरण झनैं सहज भएको छ । नेपालले पछ्याएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । सर्वाधिक छिटो जित समेत हो । आइतबार आयोजक सिंगापुरलाई हराउन सके नेपाल अर्को चरणमा सहजै पुग्न सक्छ । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो ।
नेपालको जितमा कप्तान पारस खड्का नायक बने । पारसले ४२ बलमा ११ चौका र १ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । पारसले ३२ वलमा आफ्नो टी २० आईको तेस्रो अर्ध शतक पुरा गरेका थिए । १४ औं ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा पारस शिराज खानबाट क्याच आउट हुन पुगे ।
पारसले दोस्रो विकेटका लागि शरद भेषवाकरसँग ७८ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए । शरद भेषवाकर ३० बलमा ४ चौका र १ छक्का सहित ३८ रन जोड्दै नेपालको सहज जित पक्का गरे । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । रोहित ६ रनमा अविजित रहे ।
पारस र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मोहम्मद काशिफले बिलाल ताहिरबाट क्याच गराउनु अघि मल्लले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । कुवेतका लागि कप्तान मोहम्मद काशिफले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।




















