रसुवा, ११ साउन । रसुवामा डाँडाबाट खसेको ढुङ्गे पहिरोले सुमो गाडी पुर्दा दुई जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिएका छन् ।
गोसाइकुण्ड गाउँपालिका–२ तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी पुरिएको हो । प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको छ ।
घटनामा ज्यान गुमाएहरुको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र आवश्यक देखिए काठमाडौं ल्याउने तयारी छ ।


