इटहरी । नेकपा एमाले संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेस र एमाले बीचको सहमतिबारे सांसदहरूलाई जानकारी दिन बिहान १० बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो ।

समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन् । कांग्रेस-एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धतिमा सुधार गरेर राजनीतिक स्थायित्व दिने विषयमा सहमति भएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।