विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका - १ स्थित कुमार गाउँमा एक जना पुरुषको शव भेटिएको छ । सोही वडामा रहेको कृषि फार्ममा काम गर्दै आएका वर्ष ४९ का सहदेव बजगाईँको शव भेटिएको प्रहरीले जनाएको छ । 

मृतक बजगाईँको टाउको र घाटीमा चोटपटक लागेको कारण उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । बिहिबार बिहान करिब १०:३० बजे तिर बजगाईँको शव भेटिएको र घटनास्थलमा एउटा बन्चरो र दाउ फेला परेको पहरीले जनाएको छ । दुवै हतियार रगत लतपतिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बजगाईँले सञ्चालन गर्दै आएको फार्ममा एक दम्पती काम गर्नका लागि बस्दै आएका थिए । तर उनीहरू उक्त फार्ममा भेटिएनन् । हत्या कसले गरेको हो भन्ने अनुसन्धान पछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।