इटहरी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा रानाको प्रतिरक्षा गरेको छ।
रानाले पदीय दुरुपयोग गरेको दाबी गर्दै सत्तारुढ नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका बेला रास्वपाले आज (आइतबार) बिहान विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेको हो। राना रास्वपाकी पूर्वनेतृ हुन्।
‘केही समयअघि उक्त विषय (रानाविरुद्धको आरोप) बारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो। सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन’, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो कुराकानी पनि पार्टीसँग सुरक्षित रहेको उनले उल्लेख गरेका छन्।
यस क्रममा रास्वपाले धेरै राजनीतिक दलका नेताहरूले भिसाका लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको दाबी गर्दै यसलाई सामान्यीकरण गर्ने प्रयास पनि गरेको छ। र, उपसभामुख रानाका विषयमा निष्पक्ष छानबिनका लागि आफू तयार रहेको पनि बताएको छ।



















