काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘कहिले–कहिले आक्रोश देखियो । परारको साल बनेका पार्टीले संविधान बनाएको जिम्मा लिन्छ ? पर्दैन हामी नै लिन्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रका लागि लडेको, लोकतन्त्र ल्याएको जिम्मा हामी लिन्छौं, पर्दैन हामी नै लिन्छौं । त्यसमा चिन्ता नलिऊ, हामी आरोप पनि लगाउँदैनौं ।’
यत्रो परिवर्तन भएर राणा शासनको अन्धकार युगदेखि आजसम्म नेपाल आइपुगेको र त्यसमा आफूलाई गर्व रहेको उनले बताएका छन् । ‘त्यसका लागि संघर्ष गर्या छ, बलिदान गर्या छ हामीलाई त्यसमा गर्व फिल छ,’ प्रधानमन्त्री ओलीले भने । केही कमजोरी भएको स्वीकार्दै ती कमी कमजोरी हटाउनुपर्ने उनले बताए । उनले भने, ‘तर केही पनि भएको छैन होइन, परिवर्तन भएको छ ।’



















