काठमाडौं — निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्यालले आफूलाई फसाउन चाहनेहरुको इच्छा पूरा नभएको बताएका छन् ।
विशेष अदालतको आदेशले ५० हजार धरौटीमा रिहा भएपछि निलम्बित मुख्यसचिव अर्यालले यस्तो टिप्प्णी गरेका हुन् । पूर्वमुख्यसचिव अर्याललाई बिशेष अदालतले आज धरौटीमा रिहा गरेको हो । अदालतमा धरौटीमा रिहा भएपछि फोटो खिच्दै गरेका फोटोपत्रकारहरुलाई अर्यालले भने , ‘तपाईंहरूको इच्छा पुरा भएन ।’
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतमा मुद्धा दायर भएसँगै उनी निलम्बनमा परेका थिए ।



















