विराटचोक— मोरङको सुन्दरहरैंचा नगरपालिका-१० खोर्सानेमा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना वृद्धको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको केराबारी गाउँपालिका-९ देवीझोडा का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ ।

453729495_917785353712402_496000436899944268_nप्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १-०२-०४२ प ८१७२ नम्बरको मोटरसाइकल अगाडि गइरहेको प्रदेश १-०२-००१ ख ९८८३ नम्बरको बसमा ठोक्किएको थियो । त्यही बेला पछाडि आइरहेको ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ठक्करले दुवैजना घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएका उनीहरूमध्ये रामबहादुरको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए ।

घाइते रञ्जितको उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दुर्घटनामा परेका तीनैवटा सवारी साधन तथा बसका चालक उर्लाबारी-४ का राजकुमार बिकलाई नियन्त्रणमा लिएको छ । टिपर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।