काठमाण्डौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दलहरू बलियो हुनु पर्ने बताएका छन्  । 

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पोखरेलले धेरै भन्दा पनि बलिया दल आवश्यक रहेका बताए । ‘धेरै दल होइन बलिया र निर्णायक दलको आवश्यकता छ’, पोखरेलले भने । 

सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता पैदा भएको उहाँले बताए । देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको पोखरेलले स्पष्ट पारे । लोकतन्त्रको आधारभूत जग तयार गर्न कांग्रेस एमाले एक ठाउँमा उभिनु परेको उनले बताए। 

कुनै राजनीतिक दलको एकल बहुमतको अवस्था नरहेको र अझ संविधान संशोधन गर्नुपर्दा दुईतिहाई बहुमत आवश्यक पर्ने भएकोले प्रमुख दल नमिले त्यो आवश्यकता पुरा हुन नसक्ने पोखरेलले बताए। स्थायित्व प्रदान गर्ने आधारलाई केन्द्रमा राखेर दुई ठुला दलको सरकार बनेको पोखरेलले स्पष्ट पारे  । 

मुलुक लगातार आर्थिक संकटमा गएको कारण पनि एमालेले सरकारको नेतृत्व गर्नु परेको उनले बताए। प्रमुख पार्टी नमिल्दासम्म अहिलेको आर्थिक अवस्थामा सुधार नआउने आवाज उठेपछि त्यसको लागि पनि कांग्रेस एमाले मिल्नु परेको उनको धारणा छ । कतिपयले उद्योगी व्यवसायीको कुरा सुनेर कांग्रेस र एमाले मिलेका भनि टिप्पणी गर्ने गरेका बताउँदै पोखरेलले देश बनाउने सवालमा उनीहरूको कुरा पनि सुनेको स्पष्ट पारे  ।