काठमाडौँ—भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएकी महिलाको पहिचान फरक परेको छ । यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो ।

मेलुङ ४ कै एक युवकले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो ।

तर उनले गलत जानकारी दिएको खुलेको हो । आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती भने सम्पर्कमा आएको बताइएको छ । मृत्यु भएकी भनिएकी सुष्मा बिबाह गरेर चितवनमा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उक्त शवको पहिचान अझै हुन सकेको छैन । बिहीबार दिउँसो १ः४० बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो।

घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल लगिएको छ । दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो।