काठमाडौं — सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङले रास्वपाका सभापति रबि लामिछानेसँग नाम जोडिएपछि आफू बर्वाद बनेको बताएकी छिन् । एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी छानविन संसदीय समितिमा बयान दिन पुगेकी गुरुङले यस्तो बताएकी हुन् । गुरुङ सहकारी ठगी प्रकरणमा जेलमा रहेकी छिन ।
समितिमा बयान दिने क्रममा सुप्रिम सहकारीका कर्मचारी गुरुङले आफूलाई व्यवस्थापकले फसाएको बताइन । ‘डकुमेन्ट बिनै रवि लामिछानेको नाममा चेक साट्नाले आफ्नो जिन्दगी नै बरबाद भयो,’ बयानमा गुरुङले भनेकी छिन , ‘रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भएको छ । मेरो जिन्दगी बिग्रियो ।’
उनले बयानको क्रममा आफूले सहकारीका व्यवस्थापकले अह्राएको काम गर्दा फसेको बताएकी छिन । ‘रविको नाममा डकुमेन्ट नहुँदा पनि भौचर कसरी साट्ने भनेर मैले भने । तर मलाई व्यवस्थापकले जे अह्राएको छ, त्यो गरेर ल्याउनु भनेपछि म कामदारको हैसियतमा चेक साट्न गएको हो‚’ गुरुङको भनाई उद्धृत गर्दै समितिका एक सदस्यले भने ।
बयानकै क्रममा आँसु झार्दै डाँको छाडेर रुएकी गुरुङले एक वर्षदेखि आफू तलब नपाएको र जागिरविहीन भएको दुखेसो समेत गरेकी छिन ।



















