सुनसरी —सुनसरीको इटहरीमा चक्कु देखाएर लुटपाट गरेको आरोपमा सात जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनीहरुलाई  शुक्रबार इटहरी उपमहानगरपालिका -३ तालतलैयाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी-४ निवासी २४ वर्षीय विशाल तामाङ, इटहरी-१६ निवासी १८ वर्षीय रिचन खत्री,रामधुनी नगरपालिका -३ का २२ वर्षीय अनिश कोइराला, सोही स्थानका १९ वर्षीय सुशन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत र रामधुनी ७ बस्ने १८ वर्षीय साकार भण्डारी रहेका छन् । उनीहरुले बाटो छेकेर चक्कु देखाएर लुटपाट गर्ने गरेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार बाटो छेकेर चक्कु देखाएर दुई लाख रुपैयाँ लुटपाट गरेको बताइएको छ । उनीहरूलाई प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

साथमा रहेको चक्कु देखाएर स्थानीय अमन भगत लगायतका मानिसलाई नगद दुई लाख रुपैयाँ लुटपाट गरेको डीएसपी कार्कीले बताए ।‘प्रहरीमा निवेदन आएपछि हामीले इटहरी ४ स्थित टेङ्ग्रा खोलाबाट पक्राउ गरेका हौँ,’ कार्कीले भने, ‘चोरी तथा डाका गरेको नगद तथा चक्कुसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकाहरूको साथबाट विभिन्न दरका नेपाली नगद ३० हजार दुई सय ५५ रुपैयाँ, चक्कु एक थान, मोटरवाला ओकेटोके हेण्ड सेट दुई थान, ६ थान मोबाइल बरामद गरिएको छ ।