काठमाडौं । निर्वाचनको समयमा जनतासँग भोट माग्न नेताहरुले अनेक बाचाहरु गर्ने गर्छन । यस्तै, एक मेयरले चुनावका बेला नगरवासीसँग बोलेका कुरा पुर्याउन नसक्दा आफैंलाई कारवाही गरेका छन् । उनले महिलाको कपडा लगाएर सहरका सडकहरुमा घुमेका छन् । यसरी आफैंलाई सजाय दिने मेयर हुन्, जेवियर सजमेनेज । मेक्सिकोमा उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ ।

जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्। सो भिडियोमा उनीसँगै एक अधिकारी पनि देखिएका छन् । उक्त अधिकारीले पनि महिलाको लुगा लगाएका छन् । मेयरले करिब १.८ करोड रुपैयाँ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका छन् । यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ ।

यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आरोप लगाएका छन् । आरोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे । विरोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए । आफूविरुद्ध नगरवासीले गरेको यस्तो खालको क्रियाकलाप देखेर उनले आफूलाई कारवाही गर्दै यो कदम उठाएका हुन् । एजेन्सी